काठमाडाैं । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक बिहीबार अपरान्ह सिंहदरबारमा जारी छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा संसदमा उत्पन्न भएको गतिरोध अन्त्य गर्नेबारे छलफल भइरहेको हो ।
कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा (एमाले)को तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल छन् ।
यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेको तस्वीरमा देख्न सकिन्छ ।
बैठकमा कांग्रेसले माग गरेका विषयमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा उसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने सत्ता पक्षको भनाइ छ ।
यता कांग्रेसले भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ । यो अडानमा आफूहरू टसमस हुने अवस्था नरहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकनिकट स्रोतले लोकान्तरलाई जानकारी दियो ।
यदि कांग्रेसको अडानमा सहमति जुट्न नसके कार्यादेश टुंगो नलाग्ने सम्भावना रहेको सत्तापक्षको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्