Ads

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै


काठमाडौँ । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । यसअघि विभिन्न चरणमा बसेका बैठक निष्कर्षविहीन बनेपछि आज पनि बैठक बस्न लागेकाे हाे ।

शुक्रबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा (एमाले) को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्ष विहीन भएको उनको भनाइ छ । उनका अनुसार उक्त कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको हो । “बैठक निष्कर्षविहीन भयो”, उनले भने, “सहमति जुटन नसकेपछि निष्कर्ष विहीन भएको हो । आजको बैठकबाट ठ्याकै टुङ्गो बिहान ८.३० बजे लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुग्यौँ । ”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउन सक्ने आशय आफूहरुलाई स्वीकार्य नभएको  बैठकपछि सञ्चारकर्मीलाई बताए ।

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ । सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ । उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार छन् ।

Ads

सम्बन्धित पोष्टहरू