काठमाडौं । प्रतिनिसभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाएपश्चात संसदमा बोल्दै सभामुखले यस्तो आग्रह गरेका हुन्।
उनले संसद विधिसंगत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गरे। उनले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गरे।
उनले संसदको कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे।
उनले भने,‘सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पुर्याउनु हुनेछ। संसदले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा गरेको छु। संसदलाई विधिसङ्गत ढंगबाट छलफलको केन्द्र बनाऔँ। त्यहीअनुसार जानको लागि सम्पूर्ण माननीय सदस्यहरुलाई अनुरोध गर्दछु।’
सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूची हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्नेगरी स्थगित गरे।
प्रतिक्रिया दिनुहोस्