Ads

आजदेखि पोलियो रोगविरुद्धको खोप अभियान


काठमाण्डौ – सरकारले आजदेखि पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।

पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ । पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई सङ्क्रमित बनाउने गर्छ । पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ । सङ्क्रमित एक व्यक्तिबाट अर्कोमा पनि फैलिन्छ । रोग लागिसकेपछि उपचार छैन, त्यसैले पोलियो रोगविरुद्धको खोप लगाउनु आवश्यक रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।

नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन । तर आजदेखि सरकारले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान शुरु गर्दैछ । यसको मुख्य कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका आईपीभी खोप लगाउन छुट्नु हो । विश्वव्यापी रूपमा अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप लगाउन पाएका थिएनन् । त्यस बेला खोप नपाएका बालबालिकामा भोलिका दिनमा पनि पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।

डा. गौतमका अनुसार पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिकालगायतका देशमा पोलियो रोगी छन् । ती देशबाट नेपालमा आउनेहरूबाट जोखिम हुन सक्छ । त्यसबाट विगतमा खोप लगाउन छुटेका बालबालिका उच्च जोखिममा छन् ।

Ads

सम्बन्धित पोष्टहरू