काठमाडौ, गृहमन्त्री रवि लामिछानेलाई निशाना बनाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संघीय संसदका दुवै सदनमा प्रदर्शन गर्दै आएको छ । तर उसको विरोधै विच सरकारको नीति तथा कार्यक्रम पारित भई सकेको छ । यसै गरि सदनले उसै गरि राष्ट्रपतिलाई धन्यवाद पनि दिई सकेको त । तर संवैधानिक व्यवस्था अनुसार भोलि जेष्ठ १५ गते संसदमा बजेट पेश हुने दिन । संसद आह्वान पनि भई सकेको छ । प्रमुख प्रतिपक्षीको नारावाजीकै विचमा सरकारले बजेट ल्याउला वा त्यस अघिनै प्रतिपक्षीको माग संवोधन गरि उसलाई पनि सहमतिमा ल्याउला ? अहिले चिन्ता र प्रतिक्षाको विषय बनेको छ ।
सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे संघीय संसद्को संयुक्त बैठक बोलाई सकेका छन् । बजेट पेस हुने दिन पौने १ बजे नै आइपुग्न पनि सभामुख घिमिरेले सांसदहरुलाई आग्रह गरेका छन्। आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गर्ने छन्। नयाँ बजेट जेठ १५ गते ल्याउने संवैधानिक व्यवस्था छ ।
यस अघि प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पनि पारित भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
अर्थमन्त्री पुनले प्रतिनिधिसभाको वेलमा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै बेला आर्थिक वर्ष ०८०\८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा पेस गरेका थिए । नाराबाजीकै बीच अर्थमन्त्रीको बाटो छेकिरहेका कांग्रेस सांसदहरूलाई सत्तारुढ एमाले, माओवादी र रास्वपाका सांसदहरूले धकेलेर रोस्टममा जान सघाएका थिए ।
यस विचमा सत्ता गठबन्धको एक घटक नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संसदको गतिरोध हटाउने ध्यानाकर्षण पत्र बोकेर बालुवाटार पुगेका छन् । विपक्षीसँग र सत्तारुढ दलकै शीर्ष नेताको सदन खुलाउने विषयमा पटकपटक भइरहेका बैठकमा ‘बाइपास’ मा परिरहेका नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
संसदमा देश र जनताका समस्यामा सार्थक बहस नभई, अस्वस्थ्य आरोप(प्रत्यारोप भइरहेको भन्दै उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्