काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मर्यादित बनाउन घरपरिवारबाटै सुरुआत गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिनावारी दिवसका सन्दर्भमा आयोजना गरिएको महिनावारी मैत्री विश्व कार्यक्रमलाई सम्बोधन गर्दै उनले मर्यादित महिनावारी बनाउनका निम्ति महिला मन्त्रालयले निर्देशिका बनाएको जानकारी दिए ।
मन्त्री चौधरीले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पाप वा गलत कुराका रूपमा लिने प्रवृत्तिको अन्त्य गर्नका निम्ति सचेतनाका कार्यक्रम बढाउनुपर्छ भने । उनले भने ,“सामुदायिक विद्यालयमा बिदाको व्यवस्था, प्याड, सरसफाइको अवस्था के छ ती कुराको पनि अनुगमन हुनुपर्छ ।” मन्त्री चौधरीले कुरीतिलाई चिर्नका लागि यस्ता अभियानले गलत मान्यतालाई परिवर्तन गर्न मद्दत पुग्ने जनाउँदै नागरिक समाजजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने उनले बताए ।
“ केमिकलरहित प्याड निर्माण गरिनुपर्छ, त्यसमा राज्यले पनि जाँच्ने संयन्त्र सक्रिय बनाउने सामुदायिक विद्यालय तथा विभिन्न सङ्घसंस्थाद्वारा वितरण गरिने प्याडमा विशेष ध्यान दिइनुपर्छ”, मन्त्री चौधरीले भने, “शरीरसँग प्रत्यक्ष जोडिएको विषय भएकाले प्याड बनाउने कुरामा विशेष ध्यान दिइनुपर्छ, महिनावारी भन्ने कुरा निकै संवेदनशील विषय हो, त्यो समयमा महिलाको शारीरिकदेखि मानसिकरूपमा संवेदनशील हुने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्