Ads

सुन तस्करी प्रकरण: काभ्रेका थर्कमान लामा पक्राउ


काठमाडाैं । ६१ किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन्।

तेमाल गाउँपालिकाका ४५ वर्षीय थर्कमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लाजिम्पाटबाट पक्राउ गरेको हो। उनी कान्छामान भनेर समेत चिनिन्छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले यसअघिको सुन तस्करीको अनुसन्धानमा प्रश्न उठाउँदै थप व्यक्तिमाथि अनुसन्धान अगाडि बढाउन सुझाव दिएको थियो।

लामाको पनि भूमिका शंकास्पद रहेकाले अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीका अधिकारीले बताए।

राजस्व अनुसन्धान विभागले २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइसकेको सुन बरामद गरेको थियो। सुरुमा राजस्वले नै अनुसन्धान गरेको यो मुद्दा पछि सीआईबीलाई हस्तान्तरण गरिएको थियो। तर सीआईबीको अनुसन्धान पनि विवादमा तानिएको छ।

अनुसन्धानमा संलग्न व्यक्तिहरूमाथि नै कारबाही गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ। सीआईबीले आयोगको प्रतिवेदनअनुसार दोस्रो चरणको अनुसन्धान अगाडि बढाएको छ।

Ads

सम्बन्धित पोष्टहरू