दमक\ भर्खरै सम्पन्न उपनिर्वाचनमा ईलामको क्षेत्र नं. २ बाट निर्वाचित भएका सुहाङ नेम्वाङ् प्रति उनको क्षेत्रका बासिन्दाले मात्र होईन सोहि क्षेत्रसँग जोडिएका तराईका बासिन्दाले समेत विभिन्न अपेक्षा राखेका छन् ।
खास गरि निर्माणाधिन दमक–रवि–राँके सडक निर्माण ईलामसँगै जोडिएका तराईका जिल्लाका बासिन्दाको चासोको विषय बनेको छ । यसले झापा र मोरङ्का सर्वसाधारण तथा उद्योगी व्यवसायीको जीवनमा महत्वपूर्ण अर्थ राख्ने उनीहरुको भनाई छ ।
उनी निर्वाचित भए लगत्तै झापाको दमक उद्योग वाणिज्य संघले इलाम बधाई शुभकामना पठाउदै निर्माणाधीन दमक –रवि–राके सडकको विषयमा ध्यानाकर्षण गराएको छ । इलाम २ को उपनिर्वाचनमा विजयी भएका सांसद नेम्बाङलाई दमक क्षेत्रबासी तथा उद्योग ,व्यवसायीहरुको तर्फबाट शुभकामना पठाउदैं संघका अध्यक्ष गोपाल गुरागाईले बधाईको साथ सो विषयमा ध्यानाकर्षण गराइएको उल्लेख छ ।
यस संघको अगुवाईमा २०५८ सालदेखि निर्माण शुरु भएको यस सडक दुई दशक वित्दा समेत पूर्णता नपाएको भन्दै त्यसलाई तदुरुकताका साथ पूरा गराउन ध्यानाकर्षण गराउदै नवनिर्वाचित सांसद नेम्बाङसंग त्यस्तो माग गरिएको अध्यक्ष गुरागाईद्धारा जारी बधाई शुभकामनामा जनाईएको छ । दमकसंग जोड्ने यस सडकले इलाम र पाँचथरको दक्षिणी क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुरयाँउने उल्लेख गर्दे यसलाई जतिछिटो सम्पन्न गर्न सांसद नेम्बाङबाट थप पहलकदमी हुने छ भनिएको छ ।
सो सडकले पूर्णता पाएमा पहाडी कृषि उपजले सहजै तराईको बजार पाउने र पहाडी जिल्लामा उत्पादन हुने औद्योगीक कच्चा पदार्थ ढुवानीमा पनि सहजता आउने देखिन्छ । यस्तै ईलाम र पाँचथरका धेरै विद्यार्थीहरु झापामा डेरा बसेर अध्ययन् गर्ने गरेका छन् । उक्त सडक पूर्ण रुपमा सञ्चालनमा आए दक्षिणी ईलामका कयौ गाउँका विद्यार्थी डेरा नबसि घरैबाट झापाका कलेजमा अध्ययन् गर्न सक्ने विद्यार्थी नेता नितेश राई बताउँछन् ।
यो सडक निर्माणले गति लिएसँगै झापासँगै जोडिएका ईलामका गाउँहरुमा होटल, रिसोर्ट तथा पर्यटकीय स्थलहरु निर्माण र सञ्चालनको क्रम पनि बढेको छ । यो सडकले पहाड र तराई दुवै क्षेत्रका बासिन्दाको जीवनमा परिवर्तन ल्याउने ईलामको माङ्सेवुङ् गाउँपालिकाका अध्यक्ष हेमन्त राईको भनाई छ । कृषि उपजको ढुवानीका लागि मात्र नभई औषधी उपचार र अन्य अत्वावश्यकी कामका लागि पनि यो सडक महत्वपूर्ण छ ।
संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवम् दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङ्ले समेत यो सडक निर्माणलाई तिव्रता दिन विगत देखिनै अगुवाई गर्दै आएका थिए । यस्तै एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गरे पछि सडक निर्माणले गति लिएको हो ।
यो सडक कालोपत्रे गर्ने कार्यको ओली प्रधानमन्त्री भएका बेला २०७६ सालमा शुरु भएको हो । सो वर्षको फागुन ४ गते ओलीले कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेका थिए । झापाको दमक देखी इलामको चुलाचुली र माङसेबुङ गाउँपालिका र पाँचथर सम्म जोडिने यो सडक स्तारोन्नति कार्य कालोपत्रे त्यसै बेला देखि शुरु भएको थियो । तीन खण्डमा ४७ किलोमिटर लामो सडकको कालोपत्रको काम अघि बढे पछि ति क्षेत्रका बासिन्दा थप आशावादी बन्दै आएका छन् ।
यो सडक २०५९ सालमा तत्कालीन मन्त्री नारायणसिंह पुनले साबिक बाँझो गाविसको माङमालुङ बजारमा उद्घाटन गरे पनि हिउँदे सडकको रुपमा मात्र उपयोग हुँदै आएको थियो । रुतुवा खोलाको भंगालो जता मोडिन्छ, उतै मोडिने यो सडक सोहि खोलाको बगरका रुपमा मात्र रहेको थियो । जसका कारण वर्षायाममा आउजाउ बन्द हुने गरेको थियो । तर यो सडकका लागि आवश्यक पुल, कल्भर्ट निर्माणसँगै कालोपत्रे समेत शुरु भए पछि यात्रा केहि हद सम्म सहज भएको छ । बुवा सुवासले समेत महत्व दिएको यो सडक पूरा गर्न सर्वसाधारण तथा उद्योगी व्यवसायीको अहिले निर्वाचित भएका सुहाङ् प्रति अपेक्षा बढेको हो ।
प्रतिक्रिया दिनुहोस्