Ads

ताला फुटाएर बस्नेतको पुनर्बहाली


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले बिहीबारदेखि कार्यभार सम्हालेका छन् । उनी उच्च अदालत विराटनगरको फैसलाबाट पुनर्बहाली भएका हुन् । बस्नेतलाई मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको तत्कालिन सरकारले २०७८ असोज २४ गते ४ वर्षका लागि प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त गरेको थियो । आचार्य नेतृत्वको सरकार विस्थापित भएर राजेन्द्रकुमार राई नेतृत्वमा बनेको सरकारले २०७८ चैत २१ गते बर्खास्त गर्ने निर्णय लिएको थियो । त्यसपछि उनी ६ महिनामै पदमुक्त भएका थिए । उक्त निर्णयविरुद्ध बस्नेतले २०७९ वैशाख १४ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

रिटमाथि गत सोमबार अन्तिम सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशहरू ममता खनाल र केशवप्रसाद बाँस्तोलाको संयुक्त इजलासले तत्कालीन मन्त्रिपरिषद्को निर्णय बदर गर्दै बोर्डको सदस्यसचिवमा बस्नेतको पुनर्बहाली हुने फैसला गरेको हो ।

बस्नेतलाई पदमुक्त गरेर २०७८ चैत २२ गते बोर्डको सदस्य सचिवमा हंशराज वाग्लेलाई नियुक्त गरिएको थियो । वाग्लेलाई पनि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०८० जेठ ३ गते बर्खास्त गरेको थियो ।

यसैबीच बिहीबार बस्नेतले सदस्यसचिवको कार्यभार सम्हाल्न पुग्दा खेलकुद विकास बोर्डको कार्यालयमा भने ताला लगाइएको थियो । कार्यालयमा ताला लगाएर कर्मचारीहरु ओलम्पियन्स पुनर्मिलन तथा प्रथम स्पोर्टस सेलिब्रेटी कार्यक्रममा सहभागी हुन गएपछि बस्नेतले ताला फुटाएर पदभार ग्रहण गरेका हुन् । स्थानीय प्रशासनको निर्देशन र वडाको जनप्रतिनिधिको रोहबरमा ताला फुटाइएको हो ।

Ads

सम्बन्धित पोष्टहरू