Ads

गण्डकीका मुख्यमन्त्री अधिकारीले आगामी आइतबार विश्वासको मत लिने


काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् ।

आइतबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए ।

‘प्रदेशसभा बैठक बस्ने जानकारी सभामुखले गराउनुभएको छ । बैठक बस्ने सूचना प्रकाशित भएको छ,’ उनले भने ।

आइतबारको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको सुवेदीले पुष्टि गरे ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले वैशाख २४ गतेसम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा १६८ को उपधारा (४) मा १६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २५ गते नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेकोे थिए ।

सर्वोच्चले सभामुखबाहेक ५९ प्रदेश सभा सदस्यको ३० जनाले बहुमत पुग्ने व्याख्यासहित बैशाख १७ गते रिट खारेज गरेपछि अधिकारीलाई विश्वासको मत लिने बाटो खुलेको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रीपरिषद्को सिफारिसमा यसअघि नै बैशाख ७ गते प्रदेश सभाको विशेष अधिवेशन डाकेका थिए । प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले उक्त बैठक बहिष्कार गरे ।
बहिष्कारका बाबजुद पनि बैठक बस्यो । प्रतिपक्षको बेन्च खाली भएपछि ५ मिनेट मात्रै बसेको बैठक सभामुख कृष्णप्रसाद धितालले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगीत गरेका थिए ।
राप्रपाले समर्थन नजनाएसम्म मुख्यमन्त्री अधिकारीले विश्वासकोे मत प्राप्त गर्ने अवस्था देखिँदैन । त्यसैले गठबन्धन दलले राप्रपालाई फकाइरहेका छन् ।

राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले विश्वासको मत दिने बारे कुनै निर्णय नभएको बताउँछन् । ‘सरकारमा जाने विषयमा निर्णय गर्ने अधिकार पार्टीले केन्द्रिय अध्यक्षलाई दिएको छ । अहिलेसम्म के गर्ने कुनै निर्णय आएको छैन,’ उनले भने ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीको पक्षमा नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ जना (सभामुख) सहित र स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ (दीपक मनाङे) छन् ।

गण्डकीमा प्रतिपक्षी कांग्रेसका २७ र राप्रपाका २ सांसद् छन् ।

Ads

सम्बन्धित पोष्टहरू