Ads

बालबालिका गाउँमा नबस्दा संस्कार र संस्कृति लोप हुने चिन्ता


मनाङ ।  बालबालिको भविष्यको सुनिश्चितताका लागि अभिभावकले सबै त्याग गर्ने गर्दछन् । बालबालिकाको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीमा बसाइँसराइ गर्ने गर्दछन् । यसले गर्दा स्थायीरुपमा बसाइँसराइ नगरे पनि अस्थायी सर्ने गर्दछन् ।

विकट जिल्ला मनाङका गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा छन् । गण्डकी प्रदेशको विकट क्षेत्र मानिने नार्पाभूमि गाउँपालिका–१, २ र ३ मा बालबालिका भेटिँदैनन् । उनीहरुको बसोबास गाउँमा हुँदैन । त्यसले गर्दा यहाँका ज्येष्ठ नागरिक चिन्तित छन् ।

नारगाउँका ८६ वर्षीय याङ्चु कर्मा लामा भन्छन् , “गाउँमा बच्चा नै भेटिदैनन्, हामी बाँच्दासम्म मात्रै हाम्रो परम्परा, संस्कार, संस्कृति रहन्छ होला, अहिलेका बच्चाहरु सबै पढ्न र काम गर्ने गरी अन्तै जान्छन्, यहाँ त बच्चा भेट्नै मुस्किल छ, गाउँमा नै बूढाबूढी मात्रै भेटिन्छ ।” यहाँ पुराना संस्कार, संस्कृति संरक्षण वृद्धवृद्धा हुँदा मात्रै रहने चिन्तामा उनि छन् ।

नारगाउँको बसोबास कसरी भयो भन्नेबारे समेत जानकार रहेको बताउँदै उनि भन्छन् , “हामी आत्तिएर मात्रै नहुने रहेछ, यहाँको विकास हुन नसक्दा यस्तो भएको हो, न त सडक सजिलो छ, न त गुणस्तरीय शिक्षा दिने खालको विद्यालय, अहिलेको जमानासँग मिल्ने गरी बच्चा हुर्काउन प-यो, अन्यत्र गएर बसेर पढाउनुपर्ने अवस्था छ, यहाँको यस्तो अवस्था कहिलेसम्म रहन्छ, त्यति बेलासम्म यहाँ बच्चा देख्न पनि मुस्किल हुन्छ ।”

बाहिर बसेर आउँदा यहाँको चलन सिक्न नमान्ने गरेको स्थानीय स्याङ्बो फुन्चुङ लामा बताउछन् । “उनीहरु यहाँको संस्कृतिमा रमाउन सक्दैनन्, अनि कसरी हाम्रो संस्कार र संस्कृति रहिरन्छ”, उनि भन्छन् , “धेरै समय बाहिर हुन्छन्, यहाँ आएर एक छिन हेर्न मन पराउँछन्, तर निर्वाह गर्न सक्दैनन् ।”

यहाँको पुरानो तथा मनाउँदै आएको संस्कार, संस्कृति, परम्परालाई निरन्तरता दिनुपर्नेमा ज्येष्ठ नागरिकको चिन्ता छ । उनीहरुले संस्कार, संस्कृति संरक्षणका लागि पुस्ता हन्तारण हुन नसक्दा लोप हुने भन्दै गुनासो गर्ने गरेका छन् । सिक्नुपर्ने बेलाका बालबालिका गाउँमा मात्रै नभई जिल्लामा नै बसोबास नहुँदा आफ्ना परम्परा, संस्कार, संस्कृति लोप हुने चिन्ता बढेको नार्पाभूमिका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामा बताउछन् ।

उनि भन्छन् , “केही वर्षपछि यहाँको स्थानीय भाषा, संस्कार, परम्परा, संस्कृति लोप हुनसक्छ, सिक्नुपर्ने अवस्थाका बालबालिका पठनपाठनकै लागि अन्यत्र जानुपर्ने बाध्यताले यो अवस्था नआउला भन्न सकिँदैन, यही बसोबास गर्ने वातावरण बनाउन स्थानीय सरकारको चासोले पुग्दैन सङ्घीय सरकारको ध्यान पुग्नुपर्छ ।”

नार्पाभूमिका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा यहाँ बालबालिकालाई गाउँमै राख्ने र गुणस्तरीय शिक्षा, स्वास्थ्य पु¥याउने प्रयासमा जुटिरहेको बताउछन् । विद्यालय, स्वास्थ्य सेवा गुणस्तरीय र सहज बनाउँदै गएको उनको भनाइ  छ ।

उनि भन्छन् , “स्थानीय सरकारको बजेटले मात्रै सम्भव छैन, तर सक्दो सहयोग भने गरिरहेका छौँ, यहाँ बाह्रै महिना बसोबास गर्न सक्ने स्थान पनि होइन सोहीअनुसार नै हामीले समयानुकूल बनाउँदै लगेका छौँ ।” बजेटको अभावले पनि कतिपय विषय समयमा पूरा हुन नसकेका उहाँ बताउछन् ।

उनका अनुसार पालिकाकै बजेटबाट नार, फु गाउँमा सहज यात्रा गन सकियोस् भनेर सडक सञ्जाल बनाउने काम भइरहेको छ । सङ्घ र प्रदेश सरकारले गाउँपालिका भनेर विकटता नहेर्दा यहाँ बजेट कम आउँदा हुनुपर्ने अत्यावश्यक विकास हुन नसकेको अध्यक्ष लामा बताउछन् ।

यहाँको भाषा, संस्कार, संस्कति र परम्परा लोप हुन नदिन प्राथमिकता दिएर योजना निर्माण तथा कार्यक्रमलाई बजेट व्यवस्थापन गर्ने गरिएको उनि बताउछन् । यहाँका बालबालिकालाई यही पठनपाठन गरी बसोबास गर्ने वातावरण बनाउने प्रयासमा रहेको लामा बताउछन् ।

उनि भन्छन् , “यहाँको रमणीय वातावरण हेर्न र उर्वर भूमिको उपयोग गर्दै यहीँ बसोबास गर्ने वातावरण बनाउन एकीकृत बस्ती निर्माणको योजना ल्याएका छौँ, तर बजेट कम नै छ, सम्भव्यताको अध्ययन गर्ने प्रयासमा रहेका छौँ”, अहिले यस स्थानमा खाद्यान्न अभाव भएको अवस्थामा ढुवानीमा समेत समस्या रहेको छ ।

अत्यावश्यक वस्तु ढुवानी गर्नकै लागि सहज सडक बनाउने काम भइरहेको उनि बताउछन् । नार्पाभूमि गाउँपालिकालाई चामेसँग जोड्नका लागि तीन मोटरेवल पुल आवश्यक रहेको छ । त्यसले गर्दा सडक सञ्जाल बनाउँदै गए पनि सहज हुन सकेको छैन ।

उनका अनुसार मस्र्याङ्दी नदीमाथि मोटरेवल पुल निर्माण गर्न सकिएमा सहज हुनेछ । यहाँ पुल निर्माणका लागि गाउँपालिकाको बजेटबाट मात्रै सम्भव छैन । नार्पाभूमिलाई सहज सडक सञ्जालसँग जोड्न पालिकाको बजेटले पुरा गर्न नसकिने अध्यक्ष लामा बताउछन् । उनि भन्छन् , “पालिकाले बजेटले पुरा गर्न सकिँदैन, प्रदेश र सङ्घ सरकारको ध्यान पुग्न सकेको छैन, बजेट व्यवस्थापनमा प्रदेश र संघ सरकारले चासो दिनुपर्ने हुन्छ, त्यसो हुन सकेको छैन ।”

Ads

सम्बन्धित पोष्टहरू