Ads

सधै भारतको चेपुवामा नेपाली चिया


झापा, नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारत पक्षले फेरि रोकेको छ । नेपाली चिया बारम्बार भारतको चेपुवामा पर्ने गरेको छ । चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछिल्लो पटक फेरिनेपाली चिया रोकेको हो ।

वैशाख पहिलो साता पनि रोकिएको चिया खुल्ला गरेको केही दिनमै पुुनः भारतले रोकिदिएको इलामको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए । सीटीसी चियाका गाडी भारतको पानीट्यांकीमा रोकिएको हो ।

कट्टेलका अनुसार एक गाडी चियाको नमुना पठाएर त्यसको रिपोर्ट आउन करिब १५ दिन पर्खनुपर्छ । १५ दिनसम्म भारतीय भूमिमा पुगेको गाडीको खर्च नै धान्न नसक्ने अवस्था रहेको कट्टेलले बताए। परीक्षण गर्न एक गाडी चिया पठाउँदा रिपोर्ट आउने समयसम्म करिब एक लाख भारतीय रुपियाँ खर्च हुने गरेको बताइएको छ ।

‘केहि दिन अघि प्रधानमन्त्रीलाई हामीले ज्ञापनपत्र बुझाएर चिया खुल्ला गर्ने वातारण बनाउन माग गरेका थियौं, तत्कालका लागि गाडी खुल्ला भयो । फेरि केही दिनमै अवरोध भएको छ’ कट्टेलले भने, ‘हामीले गत वर्षजस्तो चियाको प्रयोगशाला परीक्षण गरेपछि कम्तीमा तीन महिना त्यही रिपोर्टलाई आधार मान्नुपर्ने आवाज उठाउँदै आएका छौं । सरकार चियाप्रति गम्भीर देखिएको छैन ।’

गुणस्तरीय चिया उत्पादनको मुख्य यो सिजनमा इलाममा मात्र करिब ११ लाख किलो तयारी चिया गोदाममै थन्किएको छ । इलाम र पाँचथरबाट निकासी हुने अर्थोडक्स चिया प्रायःजसो नासा, आइओएमजस्ता अन्तर्राष्ट्रिय संस्थाबाट अर्गानिक प्रमाणीकरण भएर निकासी हुनेगरेको व्यवसायीको भनाइ छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब १८ करोड ८९ लाख २२ हजार रुपियाँ बराबरको ९८ लाख चार हजार ११ किलो चिया निकासी भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ६६ करोड ५४ लाख १८ हजार रुपियाँ मूल्यको एक करोड ३३ लाख ११ हजार ३ सय ४८ किलो चिया निकासी भएको तथ्याङ्कमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू