Ads

पहिचान र अधिकार प्राप्तिको संघर्ष जारी छ – प्रधानमन्त्री प्रचण्ड


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा पहिचान र अधिकार स्थापित गराउन संघर्ष जारी रहेको बताएका छन् ।

वागमती प्रदेशको सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्यरुपमा आफूले संघर्ष गर्दै आएपनि अझै पूर्णता पाउन नसकेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

इमान्दारिताका साथ संघर्ष गरिरहने हो भने बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने उनले विश्वास व्यक्त गरे । सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यवद्धता जनाउन पनि उनले अपील गरे ।

‘नेपाली जनताको त्याग र बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकसहितको संवैधानिक व्यवस्था भएको छ । यद्यपि वर्तमान संविधान पनि अझै यसलाई पूर्णता दिन बाँकी छ’, प्रधानमन्त्रीले भने, ‘नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न हामीले मुख्य रुपमा संघर्ष गर्दै आएका थियौँ । इमान्दार र संघर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् ।’

नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका लागि आफूले संघर्ष गर्दै आएको प्रधानमन्त्री प्रचण्डले स्मरण गराए ।

उनले भने, ‘नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका निम्ति मैले लगातार संघर्ष गर्दै आएको छु । आजको यस घोषणाले संघीय सरकारले लागू गरिसकेको नेपाल संवतको कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरुलाई पनि संविधानले व्यवस्था गरेबमोजिम प्रादेशिक कानूनहरु निर्माण गरी भाषिक, सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्नेछ ।’

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू