बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयपुरमा निर्माणाधीन बहुउद्देश्यीय सिटीहल अझै सम्पन्न हुन सकेको छैन । सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भइरहेको उक्त हलको तीन पटकसम्म म्याद थपिँदा पनि अधुरै छ ।
कोरोना, निर्माण सामग्री समयमा नपाउनु र बीचमा डिजाइन परिवर्तन गर्नु परेकाले तोकिएको समयमा हल निर्माण पूरा हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेले जनाएको छ । पछिल्लो समय कामले तीव्रता पाएको कार्यालयका प्रमुख विजय केशर खनालले बताए ।
डिजाइन परिवर्तन गर्दा थप रु सात करोड बजेट आवश्यक परेकाले सो बजेट केन्द्रसँग माग गरिएको भन्दै बजेट प्राप्त भएमा आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने उनले बताए ।प्रमुख खनालका अनुसार कूल रु २९ करोड ४५ लाख ५५ हजार नौ ५१ लागतमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा रु ३२ करोड लागत पुगेको छ ।
सिटीहल निर्माणका लागि विसं २०७८ साउन २५ गते काम सम्पन्न गर्नेगरी विसं २०७५ माघ २५ मा सम्झौता भएको थियो । हालसम्म करिब ८६ प्रतिशत भौतिक प्रगति भएको जनाउँदै माग गरिएको बजेट तत्काल आउने हो भने असारसम्म काम सम्पन्न गरिने प्रमुख खनालको भनाइ छ । उहाँका अनुसार भवनमा बालकोनीसहित सात ९५ सिट क्षमताका साथै तीन वटा ‘कन्फ्रेन्स हल’समेत रहेका छन् ।
पश्चिम नेपालको केन्द्रबिन्दु नेपालगञ्जमा हुने विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, सांस्कृतिक कार्यक्रमलगायत सञ्चालन गर्न सो सिटीहल बहुउपयोगी हुने आशा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्