Ads

विद्युत उपयोग बढ्दा पेट्रोलियम आयात घट्यो


काठमाडौँ, नेपाली बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । विद्युतिय सवारी साधन तथा अन्य उपकरणहरुको उपायेग बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो । इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ ।

नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल चार प्रतिशत, मटितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्याङ्क छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा डिजेलको माग कम हुँदा खपतमा कमी आएको जानकारी दिए । विद्युतीय सवारीको प्रयोगसँगै विकास निर्माणका काम तीव्र गतिमा विस्तार नहुँदा डिजेलको खपतमा कमी आएको उनको भनाइ छ । ग्यासको खपतमा समेत कमी आएको छ । पछिल्लो समय विद्युतीय चुलोको प्रयोगले गर्दा पनि ग्यासको खपत घट्दै गएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको नौ महिनामा दुई खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । आन्तरिक बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको हो ।

विभागका अनुसार नौ महिनाको अवधिमा एक खर्ब तीन अर्ब रुपियाँको डिजेल आयात भएको छ । यस्तै सो अवधिमा ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्ब रुपियाँ बराबरको एलपी ग्यास आयात भएको छ । यस्तै १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ ।

चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा सरकारले ७५ अर्ब पाँच करोड ४३ लाख ८३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार बराबरको पाँच लाख छ हजार १५९ किलोलिटर पेट्रोल आयात भएको छ ।

सरकारलाई १८ अर्ब ९५ करोड ४७ लाख १९ हजार रुपियाँ राजस्व प्राप्त भएको सङ्कलन भएको छ । यस्तै नौ महिनामा एक खर्ब तीन अर्ब २२ करोड ८४ लाख १५ हजार रुपियाँ बराबरको नौ लाख ८६ हजार ९५० किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई ३९ अर्ब ९८ करोड १२ लाख ४२ हजार राजस्व प्राप्त भएको छ ।

नौ महिनाको ४१ अर्ब ७६ करोड ४६ हजार रुपियाँ बराबरको ३९ करोड २३ लाख छ हजार ३०२ किलो एलपी ग्यास आयात भएको हो । सोबापत सरकारलाई सात अर्ब ६४ करोड ९५ लाख ३० हजार रुपियाँ सङ्कलन राजस्व आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू