Ads

सरकारविरुद्ध खेलिएका विभिन्न प्रयास एक झड्कामै टुटाइदियाैँ : विष्णु पाैडेल


काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगे मात्रै संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताएका छन् ।

नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार मन्थलीमा सम्बोधन गर्दै पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताए ।

‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ, नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’, पाैडेलले भने । पौडेलले दुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको बताए ।

संविधान उत्कृष्ट बनाएर मात्र नपुग्ने बताउँदै पौडेलले संविधानको रक्षा र उचित कार्यान्वयन आवश्यक रहेको बताए । संविधानले निर्देशन गरेको दिशातर्फ समाजलाई लैजानुपर्नेमा उनले जोड दिए । नेकपा एमालेलाई भित्तोमा पुर्‍याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेको पौडेलले बताए ।

२०७९ को निर्वाचनपछि नेकपा एमालेले राष्ट्रिय राजनीतिको निकासको लागि केही पहल गरेको उनले स्पष्ट पारे । तर एमालेलाई दुई महिनाको बीचमा नै सरकारबाट हटाउने काम भएको उनले बताए । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अनुभूत गरेर त्यो गठबन्धन भत्काएर नेकपा एमाले लगायत सम्मिलित सरकार बनेको उनले बताए ।

अहिलेको सत्ता समीकरणको न्यूनतम साझा सहमति बनेको र जनतामा आशा जगाउने काम भएको उनले बताए । अहिले पनि यो सरकार भत्काउनको लागि विभिन्न कोसिस भइरहेको उनले सुनाए । ‘हामीले गुच्चा खेलिरहेका छैनौँ, यो सरकारविरुद्ध कस्ता षड्यन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ, ती षड्यन्त्रलाई हामी एक एक गरेर तोडेर अघि बढ्ने छौँ, यो सरकारलाई सकारात्मक हिसाबले काम गर्ने दिशामा अघि बढाइरहने छौँ’, उनले भने ।

यो सरकारविरुद्ध पनि खेल्ने विभिन्न खालका प्रयास भएका भन्दै उनले एक झट्कामा नै ती प्रयत्न टुटेका उनले बताए । यो सरकार ताेड्नुपर्छ भन्दै समीकरणमा नै रहेर भाषण गर्दै हिँड्नेहरू अहिले हामी यही सरकारमा रहन्छौँ भनेर विज्ञप्ति निकाल्ने तहमा पुगेका उनले सुनाए ।

‘यो सरकार २०८४ सम्म रहन्छ, कसैले यो सरकार ढाल्न सक्दैन, यसको विकल्पमा अर्को सरकार बन्न सक्दैन’, उनले भने । उनले एमाले-कांग्रेस मिलेर सरकार बनाउन नहुने बताए । कांग्रेस र एमालेको एजेण्डा पनि नमिल्ने भएकोले कांग्रेसँग सहकार्य हुन नसक्ने उनले स्पष्ट पारे ।

Ads

सम्बन्धित पोष्टहरू