काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन भनेका छन् ।
कार्कीले आज नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए।
‘प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख कार्यालयको सभाहलमा परिचय खुल्ने परिचय पत्रसाथ उपस्थित भई सनाखत गर्ने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ,’ प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै एमाले, माओवादी केन्द्रका ५२ सांसदले हस्ताक्षर गरेका छन्। कोशीमा बहुमत पुग्न ४७ सांसद भए पुग्छ। जसपाकी एक सांसदले पनि कार्कीलाई समर्थन गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्