Ads

मधेशमा आगलागी, १० महिनामा १९ जनाको मृत्यु


जनकपुरधाम, वैशाख २७ गते। मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ। चालु अर्थिक वर्ष २०८०\८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

साथै आगलागीमा परेर १५ जना बालबालिकासहित एक सय ३९ जना घाइते भएका छन्।सो आगलागीबाट सबैभन्दा बढी धनुषामा छजना, सिरहामा पाँचजना, रौतहटमा तीन जना, बारामा दुईजना, पर्सा ,महोत्तरी तथा सर्लाहीमा एक÷एक जनाको मृत्य भएको हो।

त्यसैगरी आगलागीबाट दुई सय ९६ वटा पशुचौपाया जलेर मरेको छभने एक सय १४वटा पशुचौपाया घाइते भएको सो कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए ।

कार्यालयका अनुसार आगलागीबाट मधेश प्रदेशको आठवटा जिल्लामा एक हजार १० घरगोठ जलेर नष्ट भएको तथा एक हजार दुई सय ६६ वटा आगलागीको घटना भएको हो।

आगलागीबाट जलेका एक हजार १० घरगोठ अन्तर्गत कच्ची घर छ सय ६९, पक्की घर ८८ तथा गोठ दुई सय ५३ रहेका छन्।प्राप्त विवरणमा सबैभन्दा बढी आगलागीको घटना सिरहामा दुई सय २९ वटा भएको तथा सबैभन्दा कम सर्लाहीमा एक सय ११ वटा भएको हो। महोत्तरीमा एक सय ९२ वटा, बारामा एक सय २९, रौतहटमा ८८ वटा, पर्सामा ७५ वटा र धनुषामा २५, सप्तरीमा एक सय ९४ घरगोठ जलेर नष्ट भएको बताइएको छ।

प्रदेश प्रहरी कार्यालय अनुसार आगलागीमा रु ९९ करोड ६० लाख ३७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको विवरणमा उल्लेख गरिएको छ।

 

Ads

सम्बन्धित पोष्टहरू