Ads

अघिल्लो बजेटमा भएका सुधारका प्रयासहरु यो सरकारले निरन्तरता दिएन : पूर्व अर्थमन्त्री महत


काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा सुधारका प्रयासहरुले निरन्तरता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा बोल्दै महतले आफू अर्थमन्त्री हुँदा भएका सुधारका प्रयासहरु अहिलेको बजेटले समावेश नगरेको बताए।

स्रोतको व्यवस्थापन, कहाँबाट जुटाउने र कसरी खर्च गर्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्दै अहिले बढाउनकै लागि करिब एक खर्ब बढी बजेट बढाइएको टिप्पणी गरे।

उनले अहिलेको बजेट चुनौतीहरुको सामना गर्नेतर्फ एउटा कंक्रिट दिशा पक्रिन नसकेको बताएका छन्। उनले भने, ‘अहिलेको बजेट चुनौतीहरुको सामना गर्नेतर्फ एउटा कंक्रिट दिशा पक्रिन सकेको छैन। बजेटरी सिस्टममा अनुशासनको जुन कमी थियो। त्यसमा हामीले रोडम्याप तयार गरेका थियौं। तर त्यो सुधारले निरन्तरता पाएन।’

सुधारका कामहरु अहिलेका अर्थमन्त्रीले उच्चस्तरीय सुधार आयोगमा लगेर पन्छाइदिएको र त्यो आवश्यक नरहेको उनको भनाइ थियो। उनले भने, ‘उहाँले उच्चस्तरीय सुधार आयोगमा पन्छाइदिनुभयो। यो कुनै आयोग आवश्यक थिएन। नयाँ नयाँ कार्यक्रम प्रस्ताव हुँदै जाने र पुराना अलपत्र हुँदै जानेछन्। यसका लागि उच्चस्तरीय आयोगबाट सुधार हुँदैन।’

उनले राजश्व र जिडिपी रेभिन्यूको रेसियो एसियाका अन्य देशभन्दा नेपालको राम्रो भए पनि उत्पादन हुन नसकिरहेको कुरा बजेटले समाधान दिन नसकेको औंल्याए। ‘हाम्रो लगानी पनि भइराखेको छ तर उत्पादन बढिराखेको छैन। यसको समाधान खोज्नुपर्छ। तर सरकार कहाँ कसरी आफ्‍नो संस्थाहरु नजिकलाई सम्बोधन गर्ने भन्नेतिर छ। लगानी त गरिराखेका छौं। तर ठीक ठाउँमा गरिराखेका छैनौं। पुँजीगत खर्च कम भइराखेको छ र जहाँ गरिराखेका छौं त्यो पनि ठीक छैन।’

Ads

सम्बन्धित पोष्टहरू