काठमाडाैं । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ ।
मकालु गाउँपालिकाको आम्राङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अडिट-२ मा स्विच थिचेर ब्रेक थ्रु गरेका हुन् ।
११ किलोमिटरको सुरुङ पूरा भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगेको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण काम भएको बताए । आयोजना सम्पन्न गर्न सरकारले सहयोग गर्ने उनको भनाइ छ ।
गत वर्ष आफू भारत जाँदा भएको सम्झौताअनुसार काम भइरहेको उनले बताए । बजेटले ऊर्जा क्षेत्रलाई विशेष प्राथिकता राखेको प्रचण्डको भनाइ छ । यो आयोजनाले नेपालको विद्युत् व्यापारमा महत्त्वपूर्ण टेवा पुग्ने उनले बताए ।
सन् २०१४ मा नेपाल सरकारसँग यो आयोजनाका बारेमा सम्झौता भएको थियो । सन् २०१८ देखि सुरुङ निर्माणको काम सुरु भएको थियो । चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा विद्युतगृह निर्माण भइरहेको छ । २०७५ देखि भारत सरकारले आयोजनाको काम सुरु गरेको थियो । कुनै अवरोध नभए अबको दुई वर्षमा निर्माण सम्पन्न हुने बताइएको छ । यहाँबाट चार सय केभी क्षमताको प्रसारणलाइन बन्नेछ ।
कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले एउटा महत्त्वपूर्ण काम भएको बताए । गत वर्ष नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सम्झौताअनुरुप काम अघि बढेको उनको भनाइ थियो ।
परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत विद्युत् निःशुल्क प्राप्त हुनेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख छ। भारतीय कम्पनी सतलज जलविद्युतअन्तरगत निर्माण भइरहेको आयोजनाबाट वार्षिक ४ अर्ब १ करोड ८० लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
अहिलेसम्म आयोजनामा करिब ६४ अर्ब खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । नेपालले निःशुल्क प्राप्त गर्ने विद्युत् २१.९ प्रतिशतबाहेक आयोजनाबाट उत्पादित् विद्युत् ४ सय केभी प्रसारणलाइनमार्फत ढल्केबर पुर्याइनेछ । ढल्केबरबाट सिमापार प्रसारणलाइन हुँदै भारतको सितामडी पुर्याइनेछ ।
आयोजनाबाट नेपाल सरकारले उत्पादन सुरु भएको १५ वर्षसम्म ७ प्रतिशत र त्यसपछि १२ प्रतिशतका दरले वार्षिक ऊर्जा रोयल्टी प्राप्त गर्नेछ । त्यस्तै उत्पादन सुरु भएको १५ वर्षसम्म प्रतिमेघावाट ४ सय रुपैँया र त्यसपछि प्रतिमेघावाट १८ सय रुपैँया क्षमता रोयल्टी बुझाउनुपर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्