Ads

लामडाँडा’ पर्यटकको रोजाइमा


वालिङ । पछिल्लो समय ‘लामडाँडा’ आन्तरिक तथा बाह्य पाहुनाहरूको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ मा अवस्थित लामडाँडा गाउँमा ‘लामडाँडा सामुदायिक घरबास’ सञ्चालनमा आएसँगै पाहुनाहरूको रोजाइमा पर्न थालेको हो । लामडाँडामा अधिकांश गुरुङ समुदायको बाक्लो बसोवास छ ।

आन्तरिक तथा बाह्य पाहुना आकर्षित गर्दै गाउँमा आम्दानी भित्र्याउने योजनासहित घरबास सञ्चालन गर्ने निर्णय गरिएको लामडाँडा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष लीलबहादुर गुरुङले बताए ।

बाक्लो बस्ती रहेकाले सबैको सामूहिक प्रयासबाट घरबास सञ्चालन गर्न सकिने भएकाले लामडाँडालाई घरबासका रूपमा विकसित गरिएको उनले बताए । “एकैठाउँमा बाक्लो बस्ती भएको र यहाँका गाउँलेहरू घरबास सञ्चालन गर्न इच्छुक भयौँ”, उनले भने, “फलस्वरुप घरबास सञ्चालन गर्न आवश्यक तालिम तथा सीप सिकेर अगाडि बढ्यौँ ।” गएको फागुनदेखि घरबास सञ्चालनमा आएको हो ।

घरबासमा आउने पाहुनालाई लक्षित गरी स्थानीय खानाका परिकार, गुरुङ समुदायका सांस्कृतिक नृत्यले स्वागत सत्कार गरिँदै आएको छ । उहाँनका अनुसार स्थानीय महिला आफ्नो गाउँठाउँमा पाइने फूल तथा पातबाट आकर्षक माला बनाएर पाहुनाको स्वागतमा खटिन्छन् ।

पाहुना गाउँमा प्रवेश गरेसँगै सामुदायिक भवनमा टीका मालाद्वारा महिलाले स्वागत गर्ने गरिएको स्थानीय लामडाँडा महिला विकास सङ्घकी अध्यक्ष लक्ष्मी गुरुङले    बताए । “सुरुमा पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्छौँ”, उनले भने, “स्वागतसँगै त्यहीँ नै स्थानीय परिकारका खाजा उपलब्ध गराउँछौँ ।”

सामुदायिक भवनमै सबैले साँझ खाना खाएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन दिने गरिएको उनले बताए । सांस्कृतिक कार्यक्रम सकिएपछि पाहुनालाई घर–घरमा बाँडेर सुताउने गरिएको छ । “साँझ पाहुनालाई स्वागतसँगै सुरु भएको प्याकेज भोलिपल्ट बिहानको नास्तासम्म रहन्छ”, उनले भने, “स्वागतदेखि बिदाइसम्मको एक दिनको प्याकेजको प्रतिपाहुना रु एक हजार दुई सय शुल्क लिने गरेका छौँ ।”

भर्खरै सञ्चालनमा आएको, नयाँ र रमणीय ठाउँ भएकाले पनि यहाँ पाहुनाको भीड लाग्दै गएको हो । स्थानीयको स्वागत सत्कार तथा गुरुङ समुदायको रीतिरिवाज संस्कार, संस्कृतिको अवलोकन गर्नका लागि पनि यहाँ पाहुना आउने गरेका उनले बताए ।

“गुरुङ समुदायका विभिन्न सांस्कृतिक कार्यक्रम पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउछन्”, उनले भने, “जसले गर्दा संस्कार, संस्कृति तथा परम्पराको सिकाइको पुस्तान्तरणमा समेत सहयोग पुगेको छ ।”

लामडाँडामा हाल एक सय जनासम्म बस्ने क्षमता रहेको छ । यहाँ हप्तामा तीन–चार दिन ३०–३५ जनाका दरले पाहुना आउने गर्छन् । विशेषगरी बिदाका दिनमा बढी चहलपहल हुने गरेको छ । गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको आकर्षण भएपछि अहिले आम्दानीको स्रोतका रूपमा घरबासले स्थान पाउन थालेको छ ।

Ads

सम्बन्धित पोष्टहरू