काठमाडौँ, पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो ।
कोषका सदस्य सचिव डा। मिलनकुमार थापाका अनुसार भेटी चोरीको गिरोहलाई प्रहरीमा बुझाएपछि र सिसिटिभीमार्फत निगरानी बढाउँदा यस वर्षको सर्वाधिकसहित जेठ १ देखि २२ गतेसम्ममै एक करोड पाँच लाख नौ हजार १६७ रुपियाँ भेटी सङ्कलन भएको छ ।
यसअघि वैशाख १ देखि ३१ गतेसम्ममा एक करोड १२ लाख पाँच हजार ७३२ रुपियाँ सङ्कलन भएको छ । जेठ २० गते दुई महिनायताकै सर्वाधिक सात लाख सात हजार ३१६ रुपियाँ भेटी सङ्कलन भएको उनले जनाए । सङ्कलित भेटी मन्दिर परिसरबाटै मुचुल्का गरेर नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कमा जम्मा गरिने गरेको छ ।
जेठ ८ गते कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारलाई महानगरीय प्रहरी वृत्त गौशालाले काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्