काठमाडौ\ दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको अर्वौ रुपैयाँ उधारो नतिर्दा किसानहरु पीडित बनेका छन् । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सरकारी स्वामित्वको डीडीसी र निजी डेरीहरुबाट गरी किसानले चार अर्ब रुपैयाँ पाउन बाँकी छ । झन्डै ७ महिनादेखि दूधको भुक्तानी रोकिँदा प्रत्यक्ष मार किसानलाई परेको छ ।
दूधको भुक्तानीका लागि दबाब दिन देशभरका किसान आन्दोलित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा गत फागुन १९ मा सरकार र किसान संघ-संस्थाका प्रतिनिधिबीच चैत २१ भित्र भुक्तानी दिने सहमति भएको थियो । तर, तीन महिना बित्दा पनि किसानले भुक्तानी पाउन सकेका छैनन् ।
४३ जिल्लाबाट दूध संकलन गरिरहेको डीडीसीले उत्पादन बिक्री नहुँदा भुक्तानी गर्न नसकेको दाबी गरेको छ । संस्थानले दुग्ध उत्पादक सहकारीहरुलाई पाँच महिनायता भुक्तानी दिएको छैन । करिब दुई अर्ब रुपैयाँ हाराहारीकै वटर, धुलो दूध, घिउलगायत कच्चा पदार्थ संस्थानसँग मौज्दात छ ।
निजी डेरीहरुको छाता संगठन नेपाल डेरी संघले पनि बजारमा दूधको खपत बढ्न नसक्दा भुक्तानी हुन नसकेको जनाएको छ । भुक्तानीको माग गर्दै शनिबार ९ वटा किसानका संघ संगठनले कृषिमन्त्री ज्वालाकुमारी साहलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । मन्त्री साहले प्रधानमन्त्रीस्तरमा छलफल गरेर समस्या सुल्झाउने आश्वासन दिएकी छन् ।
दुई अर्ब रुपैयाँ बराबरको दुग्धजन्य वस्तु मौज्दात रहेपछि कृषि मन्त्रालयले मूल्य घटाएर बिक्री गर्ने तयारीसमेत गरेको छ । ३० करोड ऋण दिँदा पनि किसानको भुक्तानी पूरा हुन नसकेपछि मौज्दात सामग्री बिक्री गरेर समस्या समाधान गर्ने विकल्प उपयुक्त हुने मन्त्रालयको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्