बागलुङ । गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो ।
एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आउनुभएकी उनले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गरेका थए । सुनारकी दुई छोरा सम्पर्कविहीन छन्भने एक छोरा जेलमा छन् । समुदायसँग हात थापेर जीविका चलाउँदै आएकी सुनारको परिवारले नयाँ घर पाएका छन् ।
गाउँकै ज्ञानबहादुर थापाको पहलमा उहाँको परिवारलाई नयाँ घर निर्माण गरिएको हो । “वृद्धावस्थामा नयाँ घर मिलेको छ, नातिनातिनालाई ओत लगाउन पाएँ, तीन छोरा भएरसमेत सुखको अनुभूति गर्न पाएको थिइनँ । १२ वर्षअघि भारत गएको जेठो र माइलो छोरा फर्केर आएनन्, कान्छो जेलभित्र छ,” सुनारले भने, “अब बल्ल बासको पीर हट्यो ।”
थापाले एउटै कोठामा आठजनाको परिवार कोचिएर बसेको तस्बिर सामाजिक सञ्जालमा राखेर सहयोगको अपिल गरेको थियो । “बेलाबेलामा खाद्यान्न, जस्तापाता सहयोग गरिएको थियो, तर सुरक्षित आवास नहुँदा समस्या थियो, एक दिन बिहानै काली सुनारको घरमा पुग्दा अगेना छेउमै आठजना कोचिएर सुतेको देखेपछि सामाजिक सञ्जालमा तस्बिर राखेँ,” थापाले भने, “धेरैले घर बनाइदिनूहोस् हामी सहयोग गर्छौं भन्ने आश्वासन दिए । स्थानीय युवाहरुको साथ सहयोगमा नयाँ घर निर्माण गर्न सफल भयौँ ।”
घर बनाउन सुरुमा प्रगति आधारभूत विद्यालयले अभिभावक भेलामा रु २५ हजार पाँच सय सङ्कलन गरेको थियो । त्यही पैसाले घर बनाउने काम थालेको उनको भनाइ छ । अहिले अधिकतम रु पाँच हजारदेखि दुई हजारसम्म सहयोगको प्रतिबद्धता धेरैले जनाएको थापाले जानकारी दिए । चार कोठाको घर निर्माण सम्पन्न भइसकेको थापाले बताए । उनका अनुसार गलकोट नगरपालिकाको विपद् व्यवस्थापन शाखालेसहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सुनारले वृद्धभत्ताको रकम नातिनातिनीको पढाइमा खर्च गर्दै आएका छन् । सुनारको परिवारलाई गाँस, बास, कपास र शिक्षाको व्यवस्था मिलाउने गरी सहयोग सङ्कलन अभियान जारी रहेको थापाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्