काठमाडौँ, सरकारले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम चरणको तयारी गरिरहेको छ । साउनको पहिलो साताभित्र बङ्गलादेश विद्युत् निर्यात गर्ने कार्ययोजना अनुसारका गृहकार्य भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
बङ्गलादेशले पनि सोही अनुसारका तयारीको काम गरिरहेको छ । त्यहाँको मन्त्रीपरिषद् अन्तर्गतको सरकारी खरिदसम्बन्धी मन्त्रीस्तरीय समिति (क्याबिनेट कमिटी अन गभर्नमेन्ट पर्चेज–सिसिजिपी) ले मङ्गलबार नेपालबाट ४० मेगावाट विद्युत् खरिदको प्रस्ताव स्वीकृत गरेको छ । यसलाई त्यहाँको मन्त्रीपरिषद्ले अनुमोदन गर्न भने बाँकी छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीका अनुसार नेपाल बङ्गलादेशबिच विद्युत् व्यापारका सन्दर्भमा हालसम्म भएका सबै समझदारीलाई अन्तिम र एकीकृत रूप दिने गरी असारको दोस्रो साता नेपालमा नेपाल–बङ्गलादेश सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै छ ।
ढिलोमा साउनको पहिलो सातादेखि विद्युत् निर्यात गर्ने गरी दुवै देशका सम्बन्धित निकायले काम गरिरहेको उनको भनाइ छ ।
बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि भारत सरकारले सैद्धान्तिक सहमति जनाइसकेकाले नयाँ जटिलता सिर्जना हुने सम्भावना कम छ । यसबाहेक पनि कार्यान्वयनकारी निकायहरूबिच विद्युत् व्यापारको प्रारम्भिक मस्यौदामा पनि सहमति भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अघिल्लो भारत भ्रमणका क्रममा भारतीय संरचना प्रयोग गरी नेपालको ४० मेगावाट विद्युत् बङ्गलादेश पु¥याउन सहमति भएको थियो ।
गत वर्ष जेठ २ गते बङ्गलदेशमा सम्पन्न ऊर्जा सचिवस्तरीय निर्देशक समितिको बैठकले पनि नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत् बङ्गलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबिच विद्युत् बिक्री सम्झौता (पावर सेल्स एग्रिमेन्ट) यथाशीघ्र गर्ने निर्णय गरेको थियो । मङ्गलबार बङ्गलादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीले अध्यक्षता गरेको मन्त्रीपरिषद्को सार्वजनिक खरिद समितिले नेपाल, भारत र बङ्गलादेशबिच त्रिपक्षीय सम्झौताका आधारमा पाँच वर्षका लागि विद्युत् खरिद गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्