काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले कुनै पनि मित्र राष्ट्रको भ्रमणमा जाँदा जानकारी गराउने अभ्यास रहेको बताए । उनले भने, “प्रधानमन्त्री यही जेठ २७ गते भारत भ्रमणमा गएर फर्किए । पाँच दिन वितिसक्दा पनि सदनलाई जानकारी दिन आएन । उनको भ्रमणबारे सदन अनविज्ञ हुनु राम्रो होइन । प्रमुख प्रतिपक्षको हैसियतले मैले प्रधानमन्त्री ज्यूलाई तपाई सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने अवस्था आयो ।”
भारतमा हालै लोकसभा निर्वाचन सम्पन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिनुभएको समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल यही जेठ २७ गते भारतको औपचारिक भ्रमणमा गएको थियो । उनी जेठ २८ गते भारत भ्रमणबाट फर्किएको हो ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन मुलुकबाहिर गएको उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रपति र प्रधानमन्त्री देशबाहिर जाने कुरा अखबार पढेर सदनले जानकारी पाउनु राम्रो नभएको बताए ।
उनले भने, “हामी संसदीय सार्वभौमिकताको कुरा गछौ । संसदीय स्वतन्त्रताको कुरा गर्छौ । प्रधानमन्त्री सदनमा देखिनुभएको छैन । के कति कारणले उनी यहाँ नआएको हो रु संसदीय परम्परा तोडिएको छ । मिचिएको छ । सदनलाई मान गर्नुपर्ने अवस्थामा अपमानको स्थिति आयो ।”
राष्ट्रप्रमुख र प्रधानमन्त्री मात्र होइन, सदन चलिरहेको अवस्थामा मन्त्रीहरुलेसमेत सदनलाई जानकारी गराएर विदेश भ्रमणमा जाने कतिपय देशमा अभ्यास रहेको प्रमुख सचेतक लेखकको भनाइ छ । सभामुखले विशेष ढङ्गले रुलिङ गर्न जरुरी रहेको उनले बताए। संसदको अर्को बैठक प्रारम्भ हुने वित्तिकै प्रधानमन्त्री दाहालको भारत भ्रमण र राष्ट्रपति पौडेलको विदेश भ्रमणबारे जानकारी गराउन प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसमक्ष माग गरे ।
प्रतिक्रिया दिनुहोस्