ताप्लेजुङ, ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । पछिल्लो चार,पाँच दिनयता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् ।
प्रहरीका अनुसार शनिबार बिहान पहिरो जाँदा मिक्वाखोला गाउँपालिका–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतबार लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएका छन् ।
उनका अनुसार तीनजना लिम्बूका परिवारका सदस्यहरूले भागेर ज्यान बचाउन सफल भएका छन् भने पहिरोले गोठ र खोरसहित केही पशुपन्छी बगाएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार नै बिहानको राति करिब २ बजेतिर गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ ।
मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएका छन् । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको मामाङ्खेका स्थानीय कैलाश माबोले जानकारी दिए । विस्थापितहरुले सुरक्षित ठाउँका आफन्तकोमा शरण लिएर बस्दै आएका छन् ।
पहिरोले मामाङ्खेमा ३० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा परेका छन् । यस्तै पहिरोले खानेपानीमा क्षति पुर्याउँदा मामाङ्खेका करिब तीनसय परिवारले खानेपानीबाट वञ्चित हुनुपरेको छ। यसैगरी याम्फदिनमा पनि दर्जन बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।
यसरी मनसुन पूर्णरुपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानी लगायतका संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भुवनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ वटामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा पर्दछन् ।
प्रतिक्रिया दिनुहोस्