Ads

नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित


काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित भएको छ । नेपाल १९ ओभर २ बलमा अलआउट भयो । नेपालले प्रतियोगितामा ऐतिहासिक जितका साथ सुखद अन्त्य गर्न असफल भयो । आज नेपालका लागि १० वर्षअघि सन् २०१४ मा बङ्ग्लादेशसँग हारेको बदला लिने मौका थियो तर त्यो पनि गुमायो । नेपालले टी–२० क्रिकेटमा अहिलेसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन ।

आजको खेलमा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । त्यस्तै दिपेन्द्रसिँह ऐरीले २५ र आशिफ शेखले १७ रन बनाए । कप्तान रोहित पौडेल एक रनमा आउट भए । नेपाललाई जितका लागि बङ्ग्लादेशले एक सय ७ रनको लक्ष्य दिएको थियो ।

वेस्ट इन्डिजको किङ्ग्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेश १९ ओभर ३ बलमा एक सय ६ रन बनाउँदा अलआउट भयो । उसका शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए । त्यस्तै मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन जोडे । जाकेर अलीले १२ रन जोडे । तक्सिन अहमेद १२ रनमा अविजित रहे । लिटन दासले १० रन बनाए । बङ्ग्लादेशका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सन् २०१४ मा बङ्ग्लादेशमा भएको विश्व कपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । त्यसबेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो । टी–२० विश्वकपमा बङ्ग्लादेशसँगै भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगे । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू