Ads

कोशीमा मनसुनी जोखिम,११ महिनामा १७ जनाको मृत्यु


दमक, कोशी प्रदेशमा बाढी र पहिरोमा परी चालू आर्थिक वर्षको ११ महिनामा १७ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ ३२ गतेसम्म बाढी र पहिरोमा परी ७ जना घाइते, ४ जनाको अवस्था अझै अज्ञात र ७ करोड ६३ लाख ४३ हजार ५ सय रुपैयाँ क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार झापामा ७ जना, ताप्लेजुङमा ५ जना, भोजपुरमा २ जना, इलामका २ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ताप्लेजुङमा २ जना घाइते, ओखलढुङ्गामा २, इलाम, सुनसरीमा १–१ जना बेपत्ता भएका छन् । सङ्खुवासभामा ४ जना बेपत्ता भएकाहरूको अवस्था अहिले पनि अज्ञात रहेको प्रहरीले जनाएको छ ।

३२ जेठमा पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भयो । फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीय श्रीमती जसमाया लिम्बू छिन् । त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ ।

राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पहिरोमा पुरिएका हुन् । त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीय छोरी घाइते भएको प्रहरीले जनाएको छ ।

यस वर्ष कोशी प्रदेशमा ४ लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ । एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । जसमध्ये २२ हजार घरधुरी प्रत्यक्ष प्रभावित र ५ हजार घरधुरीलाई उद्धार र राहत दिनुपर्ने गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मनसुनबाट चालु आर्थिक वर्षमा नै ७ जनाको ज्यान गइसकेको छ । मनसुन सक्रिय रहँदा सुदूर पूर्वका पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ मनसुनको सुरुवातमै पूर्वी पहाडका सङ्खुवासभा र ताप्लेजुङमा बाढी पहिरो सुरु भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू