काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए।
उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए।
उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरूको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे।
उनले कांग्रेसभित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे। उनले अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उनले जस्तै योग्य बन्न आग्रह गरे। उनले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै कांग्रेसले उठाएका उम्मेदवारहरु चुनावमा पराजय हुने भएकाले पराजय हुनेकुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न आग्रह गरे।
‘महिलाहरुको धेरै ठूलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा। भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरूलाई ठाउँ दिइएको छ। त्यसले गर्दा महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने कुरामा मलाई विश्वास छ। महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ। यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु’उनले भने,’अहिले संसारभर नै महिलाहरुको अधिकारका लागि महिलाहरुको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ।’
सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्