Ads

शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने


ललितपुर । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताए ।

पद्मरत्न लुमन्ति गुथिद्वारा आज यहाँ आयोजित ‘स्मृतिमा पद्मरत्न तुलाधर’ पुस्तक विमोचन तथा व्यक्तित्व सम्मान कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भाषिक, साहित्यिक आन्दोलनमा मात्रै नभएर नेपाली राजनीतिको निरंकुशताविरुद्धको आन्दोलनमा पनि तुलाधरको योगदान महत्त्वपूर्ण रहेको बताए । नेवा समुदायका अग्रज, मानवअधिकारवादी व्यक्तित्व, नेपालभाषा मङ्का खलका पूर्वअध्यक्ष तुलाधरको व्यक्तित्व समेटेर उक्त पुस्तक प्रकाशित गरिएको हो ।

“तुलाधरको बहुआयामिक व्यक्तित्व र प्रतिभाबाट धेरै कुरा सिक्न सकिन्छ, नेपाली समाजमा लोकतान्त्रिक उपलब्धि हासिल गर्न तुलाधरले गरेको योगदान अतुलनीय छ । उन साहित्यकार, सिद्धहस्त पत्रकार, लेखक तथा जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो । उनको योगदानलाई सम्मान गर्दै उनले देखेका सपना साकार पार्न सबै एकजुट भएर लाग्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “लोकतान्त्रिक आन्दोलनको योद्दाका रुपमा समन्वयकारी भूमिका खेल्ने र सहकार्यको सूत्राधार गर्ने व्यक्तित्व तुलाधर हुनुहुन्थ्यो ।”

उपप्रधानमन्त्री श्रेष्ठले पद्मरत्नसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको स्मरण गर्दै यस्ता सुयोग्य पात्रको सम्झानमा पुस्तक प्रकाशन गरेर उत्कृष्ट कार्य गरिएको बताए । पुस्तकले एउटा यतिहासलाई जीवन्त बनाइराख्नुका साथै उनहरुको महत्वपूर्ण योगदानको स्मरण सदैव भइरहेको उनको भनाइ छ ।

“पद्मरत्न र दमननाथ संविधानसभाको प्रवक्ता हुनुहुन्थ्यो, उहाँहरुकै कारण आज यो व्यवस्थाका लागि सहज भएको छ, अब प्राप्त उपलब्धिलाई माध्यम र साधन बनाएर समृद्धि हासिल गर्न सकेमा समृद्ध मुलुक निर्माण हुनेछ । उहाँहरुले नेपाली समाजको परिवर्तनका लागि दिएको योगदान महत्वपूर्ण छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने । ढुङ्गाना र तुलाधरले शान्ति प्रक्रियामा पुर्‍याएको योगदान बिर्सन नसकिने भन्दै उनले सङ्क्रमणकालीन न्याय यथाशीघ्र पूरा गरिने बताए।

कार्यक्रममा पद्मरत्न तुलाधरसँग सहकार्य, भाषा साहित्यको योगदानमा लाग्ने, राजनीतिक मानवअधिकार आन्दोलनमा काम गर्ने सहकर्मी पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत एवं पूर्वसांसद हिरण्यलाल श्रेष्ठ, भाषिक आन्दोलनका अग्रजद्वय वीरसिंह कंसाकार र नर्मदेश्वर प्रधानलाई सम्मान गरिएको थियो ।

पूर्वसभामुख ढुङ्गानाले तुलाधरको अभावमा शान्ति प्रक्रियासँग सम्बन्धित काम पूरा हुन नसकेको बताउँदै उहाँ भएको भए हालसम्म सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुगिसक्ने थियो होला भन्नुभयो । “अब देशको राजनीतिलाई धेरै जिम्मेवारीपूर्ण बनाउनुपर्नेछ, नेपाललाई उन्नत राष्ट्र बनाउने नीतिअनुसार छिमेकीप्रतिको नीति र विश्वप्रतिको नीति हुनु आवश्यक छ । अहिलेका नेताहरुले नैतिक धरातलमा उभिएर राष्ट्र र जनताका पक्षमा काम गर्नुपर्छ । उनी(तुलाधर)सँग नैतिक धरालत थियो, उनको जीवनीबाट सबैले नैतिकताको पाठ सिक्नुपर्छ”, उनले भने ।

पूर्वराजदूत तथा पूर्वसांसद श्रेष्ठले तुलाधरसँग भाषा र पत्रकारिताको माध्यमबाट पहिलो सम्बन्ध बनेको स्मरण गर्दै तुलाधर एउटा जात वा समुदायको मात्रै नेता नभएको बताए । “उनी नेपाली भाषाको पनि सम्पादक थिए । उनी राजनीतिक व्यक्तित्व मात्रै हैन देशभक्त पनि थिए, उनले साहित्य र शान्ति प्रक्रियामा विशेष योगदान पुर्‍याउनुभएको छ”, उनले भने ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तुलाधरको योगदानलाई जीवन्त राख्न गुठीले गर्ने हरेक कार्यक्रममा महानगरका तर्फबाट सहयोग गर्न तत्पर रहेको बताए । काठमाडौँ महानपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले तुलाधरले पुर्‍याएको योगदानलाई स्मरण गर्दै गुठीले आगामी दिनमा रचनात्मक र सिर्जनात्मक काम गर्ने विश्वास रहेको बताए ।

डेनमार्कका लागि प्रस्तावित राजदूत, गुठीका उपाध्यक्ष तथा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरले बुवाले जनताको मुक्तिका लागि जीवन अर्पण गरेकामा गौरवान्वित बनाएको बताए । भाषा, साहित्य तथा राष्ट्र हितका लागि उनले पुर्‍याएको योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययन गर्न उपयोगी हुने ठानेर पुस्तक प्रकाशन गरिएको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू