काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको जनमत नै नभएको भन्दै यस्तै हिसाबले अगाडि बढे विवेकशील साझा पार्टीजस्तो हालत हुने विश्लेषण गरेका छन् ।
इलाम उपनिर्वाचनपछि देशभर घुमेर सभापति रवि लामिछानेलाई बुझाउन तयार पारिएको प्रतिवेदनमा ढकालले पार्टी अहिलेकै आधारमा निर्वाचनमा गए एकदुई सिट जित्न पनि हम्मेहम्मे पर्ने गम्भीर चिन्ता औंल्याएका हुन् ।
‘इलामको उपनिर्वाचनपछि पार्टीबाटै जिम्मा पाएर देशभर कार्यकर्ता भेटघाटपछि प्रतिवेदन तयार पारेर आज सभापतिलाई बुझाउँदै छु,’ ढकालले लोकान्तरसँग भने, ‘१० पृष्ठको प्रतिवेदन तयार गरेको छु । यसमा पार्टीका समस्या के छन्, समाधान कसरी गर्न सकिन्छ, भनेर थुप्रै कुरा सुझाएको छु ।’
उनले अहिलेकै संगठनको हालतमा चुनावमा गए विवेकशीलजस्तै कमजोर हुने पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘रास्वपा (पार्टी)को जनमत छैन । जति जनमत छ, यसैको आधारमा आज नै चुनावमा जाने हो भने हामीलाई राष्ट्रिय पार्टी बन्न पनि हम्मेहम्मे पर्ला । प्रत्यक्षमा एकदुई सीट जितिएला,’ ढकालले प्रतिवेदनमा गम्भीर हुँदै लेखेका छन्, ‘हामी भोलिका दिनमा पनि आजैको स्थितिअनुसार अगाडि बढे हाम्रो पार्टीको हालत विवेकशीलसरी हुनेछ ।’
सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको विषय उनको प्रतिवेदनमा उल्लेख छ । पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको उनले बताए ।
‘यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु । श्रीकृष्णको वचनलाई सधैँ पछ्याएको छु । महाभारतमा श्रीकृष्णले सहदेवलाई नबोल्नू भनेका रहेछन्,’ उनले लेखेका छन्, ‘तर पार्टीको जन्मदाताकै रूपमा होस् वा नेपाली जनताको आशाको रूपमा रहेकाले मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ ।’
पार्टीबाट आफूलाई घोक्राएर निकाल्न सक्ने भए पनि पार्टीकै जीवनका लागि आफूले यस्तो लेख्ने जोखिम उठाएको उनले लेखेका छन् ।
‘भोलि दुर्घटना हुँदैछ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्राएर पार्टीबाट निकाल्न पनि सक्छन् । मेरो आगामी राजनीतिक जीवनका लागि यो घातक साबित हुनेछ,’ ढकालले लेखेका छन्, ‘तथापि योपटक कृष्णको वाणीभन्दा एउटा धुन मभित्र गुञ्जियो– म मरे पनि मेरो पार्टी बाँचिरहोस् ।’
इलाम उपनिर्वाचनदेखि नै महामन्त्री ढकाल पार्टीले लिएको नीतिसँग असन्तुष्ट रहँदै आएका थिए । यस्तै संगठन, रवैया र स्थितिले उपनिर्वाचन जित्न नसकिने जानकारी गराए पनि त्यसको बोध नगरेको उनले पटक–पटक बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्