मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिएका छन् । छलफलमा सहभागी प्रदेशसभाका सदस्यहरुले विभिन्न मन्त्रालयले तर्जुमा गरिएको नीति कार्यक्रम र बजेट बाँडफाँटलाई लिएर उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका हुन् ।
बैठकमा श्रम, रोजगारमन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री रमा आलेमगर, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य र भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले छलफलमा उठेका प्रश्नको जवाफ दिएका छन् ।
नौ जना मन्त्रीहरुले जवाफ दिएपछि प्रदेशसभाका सदस्यहरुले क्रमशः पुरक प्रश्न गरेका थिए । आजकै बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारका तर्फबाट जवाफ दिएपछि बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
सम्बन्धित मन्त्रीहरुले आआफ्नो मन्त्रालयले नीति कार्यक्रम र बजेट बाँडफाँटमा क्रमशः घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन, हस्तकला प्रवर्द्धनका लागि गुरुयोजना तर्जुमा, ऐतिहासिक सम्पदाको मर्मतसम्भार, हिमाली क्षेत्रमा पर्यटन विस्तार, पर्यटकलाई आवासीय सुविधा र पर्यटन सूचना प्रवाह गर्ने नीति रहेको स्पष्ट पारेका थिए ।
बैठकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणात्मकरुपमा स्तरोन्नति गर्न सबै अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मीहरुको दरबन्दी सृजना गर्ने र अस्पतालमा आउने बिरामीको उपचार सेवा प्रभावकारी बनाइनेतर्फ जोड दिइएको सम्बन्धित मन्त्रीहरुले स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विनियोजित बजेटमाथि उठेका प्रश्नको उत्तर दिएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्