Ads

कार्यदल गठन गरेर गाँठो फुकाउने प्रयास


काठमाडौँ, संसद्मा विचाराधीन सङक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका नेताको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका अन्य नेता सहभागी थिए ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सङक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति कायम गर्न कांग्रेस, एमाले र माओवादीबाट एकरएक जना सहभागी हुने गरी कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिए। “प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवासहित सबैको एउटै आवाज सङक्रमणकालीन न्याय तत्काल टुङ्गो लगाएर जानु पर्छ भन्ने धारणा थियो । टिआरसी टुङ्गो लगाउन सहमति गरेर जानु पर्छ भन्नेमा एकमत रह्यो,” उनले भने । उनका अनुसार सङक्रमणकालीन न्याय टुङ्गो लगाउन तीन पार्टीबाट एकरएक जना रहने गरी कार्यदल गठन गर्ने र कार्यदलले गृहकार्य गरेर प्रस्ताव तयार गर्ने छ । त्यसपछि शीर्ष नेतृत्वलाई ब्रिफिङ गर्ने समझदारी भएको छ । कार्यदलमा रहने नेताको नाम आआफ्नो पार्टीमा सल्लाह गरेर दिने निर्णय भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले टिआरसी विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको जनाए । उनले भने “शान्ति प्रक्रियाको बाँकी काम छिटो सम्पन्न गर्न मुख्य दलका नेताहरू जिम्मेवारपूर्वक लाग्ने र शान्ति प्रक्रिया पूरा गर्ने सहमति भयो ।”

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सङक्रमणकालीन न्याय टुङ्गो लगाएर जानेमा एकमत देखिएको जानकारी दिए । उनले तीन दलबाट एकरएक जना संसद् र कानुनी पाटो बुझेका नेता राखेर प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय भएको जनाए । यसरी बनाएको कार्यलाई हप्ता दिनको समय दिएर प्रस्ताव तयार निर्देशन दिएको छ ।

बालुवाटार बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी समिति सदस्य अग्नि खरेल, प्रमुख सचेतक महेश बर्तौला, र कानुनमन्त्री गिरी रहेको थिए । कांग्रेसबाट सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र माओवादीबाट दोस्रो तहका नेतामा शर्मासहित सांसद पूर्ण घर्ती थिए ।

Ads

सम्बन्धित पोष्टहरू