Ads

११ महिनामा २१ अर्बको धानचामल आयात


काठमाडौ, कृषिप्रधान मुलुकमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २१ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । माग अनुसार उत्पादन नहुँदा ठुलो परिमाणमा धानचामल आयात भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म १२ अर्ब ४३ करोड ९१ लाख रुपियाँ बराबरको तीन लाख सात हजार ४१७ मेट्रिक टन धान आयात भएको छ । यस्तै सोही अवधिमा आठ अर्ब ६९ करोड १७ लाख रुपियाँ बराबरको विभिन्न प्रकारका ८२ हजार ७९१ मेट्रिक टन चामल पनि आयात भएको छ ।

गत आव २०७९/८० मा ४९ लाख ४६ हजार १४१ मेट्रिक टन बर्खे धान फल्दा त्यही आवमा भारतसहित तेस्रो मुलुकबाट पाँच लाख ५७ हजार ७५२ मेट्रिक टन धान आयात भएको थियो भने चामल दुई लाख ३३ हजार ९७९ मेट्रिक टन आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष चामल आयातमा भने कमी आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार चालु आव २०८०/८१ मा मुलुकमा १३ लाख ३४ हजार २७७ हेक्टरबाट ५२ लाख तीन हजार ४२६ मेट्रिक टन धान फलेको थियो ।

आगामी आवमा पनि सरकारले प्रमुख खाद्यान्नमा मुलुकलाई आत्मनिर्भर गर्ने भनेर घोषणा गरेको छ । उक्त घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयनमा नल्याइँदा चामलको आयात दर घट्नुको साटो बढ्दै गएको छ । कार्यक्रम पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन नहुँदा वर्षभरि नेपालीको पेट भर्न आयातित चामलको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

आममानिसको मुख्य भोजन भात, बियर उद्योग र दाना उद्योगलाई कच्चा पदार्थका रूपमा चामल चाहिन्छ । यसरी हेर्दा नेपालमा वार्षिक ८० लाख टन धानको माग छ । मानिसलाई मात्रै खुवाउन भने ६७ लाख टन धान आवश्यक छ । मन्त्रालयका अनुसार मुलुकमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारी मात्रै धान उत्पादन भइरहेको छ । माग अनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ ।

Ads

सम्बन्धित पोष्टहरू