काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो ।
दुई नेताबीच आइतबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कुराकानी भएको थियो । प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिएकी छिन् ।
सत्ता फेरबदलको चर्चा चलिरहँदा दुई नेताबीच कुराकानी भएको हो । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ ।
फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको नेताहरूको भनाइ छ। तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए ।
सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको छ । मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस नेताहरूको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्