Ads

बैशाखको बाली असिनाले खायो, अहिले किराले


धादिङ – फौजी किराले मकै सखाप पारे पछि धादिङ्का किसान मारमा परेका छन् । खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुगेको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । गएको वैशाखमा असिना पानीले नगदेबाली भित्र्याउन नपाएका किसान यसपाली मकै राम्रो फल्ने आशमा थिए । तर घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पारेको झार्लाङका नासुन तामाङले बताए ।

अन्नबालीमा विपद्जन्य घटना र रोगकिराको महामारी निरन्तरको चक्र नै बनेको उनको भनाइ छ । बाली भित्र्याएर जीविका चलाउँला भन्ने आश अब नरहेको किसानले गुनासो गरेका छन् ।

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका क्षेत्रमा एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । कीराको प्रकोप बढ्दै गएको छ । औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा नआएको किसानले बताएका छन् ।

आसपासका सबै किसानले एकैसाथ विषादी हाले फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीको भनाई छ । उनका अनुसार फौजी कीरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू