Ads

गण्डक ब्यारेजका सबै ढोका खुला


नवलपरासी । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् ।

गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले बताए । आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युविक सेन्टिमिटर ९क्युसेक० रहेको हरिजनले बताए ।

नदीमा शनिबार दिउँसोबाट पानीको बहाव निरन्तर बढिरहेको उहाँले जानकारी दिए । हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा रहेको उनले बताए । गण्डक ब्यारेजमा बाँध लगाएर भारतले सिँचाइका लागि नहरमार्फत बिहार र उत्तर प्रदेशमा पानी लगेको छ ।

गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको हरिजनले जानकारी दिए । गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव छ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले अवरुद्ध सडक खुल्न समय लाग्ने बताए । “सडकमा ढलेको रुख हटाउन एक्साभेटरसहितको टिम घटनास्थलतर्फ जाँदैछ”, उनले भने, “रुख पूरै हटाएर सडक सञ्चालन गर्न समय लाग्छ”, रुख ढलेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू