काठमाडौँ । सत्ताको नेतृत्व लिने सुरसार गरेको नेकपा एमालेले मन्त्री हुन तीन ओटा मापदण्ड बनाउने भए पछि नयाँ मन्त्री को को हुने भन्ने बहस चुलिएको छ । एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् ।
कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमाले पनि मन्त्री छनौटको तयारीमा जुटेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो बस्ने सचिवालय बैठकमा मुख्यगरी तीन वटा विषयमा छलफल हुने जानकारी दिए । ‘सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायतका विषयमा छलफल हुन्छ’, गौतमले भने । उनका अनुसार सचिवालय बैठकले केही नेताको जिम्मेवारीसमेत हेरफेर गर्नेछ ।
असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिने भएकाले सो दिन उनको पक्षमा बहुमत सांसदको समर्थन नहुने संसद्को अङ्कगणित देखिएपछि एमालेले पार्टी कामको व्यवस्थापनसहित मन्त्री छान्ने गृहकार्य अघि बढाउने भएको हो ।
जनतालाई डेलिभरी दिनसक्ने सरकार गठन गर्ने भनिएकाले पनि यो पटक सरकारमा काम गर्न सक्ने व्यक्ति छानेरमात्र पठाउने तयारी एमालेले गरेको छ । मन्त्री हुनलाई यिनै मुख्य तीन आधारलाई अपनाएर अघि बढ्ने गौतमको भनाइ छ । ‘त्यसरी आधार तयार गर्दा नयाँ–पुराना अनुहार जो पनि हुन सक्छन्’, उनले भने ।
गत असार १७ गते राति एमालेले माओवादीसँगको सहकार्य तोड्दै नेपाली कांग्रेससँग समीकरण बनाउने समझदारी गरेको थियो । उक्त समझदारीमा राजनीतिक स्थिरता र आवश्यक परे संविधान संशोधनसमेत गर्ने उल्लेख भएको नेताहरूले बताउँदै आएका छन् ।
यद्यपि उक्त समझदारी दलहरूले सार्वजनिक गरेका छैनन् । एमाले–कांग्रेसले समझदारी गरेपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्नुका साथै आफ्ना पार्टीका मन्त्रीहरूलाई राजीनामा गर्न लगाएको थियो । त्यसपछि जसपाका मन्त्रीहरू समेत सरकारबाट फिर्ता भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्