काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस-एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका हुन् । अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भने भएको उनको भनाइ छ । तर, निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि उनले बताए ।
‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ,’ ओलीले भने, ‘कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन ।’
आयोग कसैको नेतृत्वमा पनि नबनेको बताउँदै ओलीले आयोग बन्ने भन्ने कुरा नभएको बताए । राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धनका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि आवश्यक संशोधन भने हुने उनको भनाइ छ ।
एमाले र कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीको भनाइ छ ।
‘मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो,’ ओलीले भने, ‘एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्ने कुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् ।’
प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको उनको भनाइ छ । विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरू मिलेको उनको प्रस्टोक्ति छ ।
स्वार्थलाई अग्रभागमा राखेर संघीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको ओलीको भनाइ छ । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्