काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्यकक्षमा आएका थिए।
भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौं र कोलम्बोबीच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौंको महत्त्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाइलगायत विषयमा कुराकानी भएको थियो ।
यस क्रममा प्रमुख साहले सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगरबीचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने धारणा राखे । उनले भने, ‘दुई देशबीच मैत्री क्रिकेट खेल आयोजना गर्न सकिन्छ । कला, खेल तथा गीत–संगीत क्षेत्रका व्यक्तिहरूबीचमा ज्ञान, सीप आदान–प्रदान गर्न सकिन्छ । मानव संसाधन विकासदेखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ ।’ प्रमुख साहले कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय विमान सञ्चालन गरेर श्रीलंकालाई सीधा लुम्बिनीसँग जोड्न सकिने बताए । त्यस क्रममा उनले श्रीलंकाको स्वास्थ्य र शिक्षा क्षेत्रका सेवा तथा कार्यक्रम, कृषि उत्पादनको चक्रबारे जिज्ञासा राखेका थिए ।
भेटका क्रममा राजदूत पाथिरानाले महानगरपालिकाले गएको वैशाख–जेठ महिनामा आयोजना गरेको सीप मेलाको प्रशंसा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख साहको कार्यशैलीको म प्रशंसक हुँ ।’ बुद्धकालदेखि नेपाल र श्रीलंकाबीच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देशबीच साहसिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरे । कुराकानीका क्रममा हिमालदेखि समुद्री तटसम्मको सम्बन्ध स्थापना गरेर आपसी ज्ञान र हित प्रवर्द्धनमा जोड दिइएको थियो ।
भेटमा आपसी सदभाव प्रतीकका लागि मायाको चिनो आदान–प्रदान गरिएको थियो । यस क्रममा प्रमुख साहले बुद्धको प्रतिमा प्रदान गरेका थिए । यस्तै, राजदूत पाथिरानाले श्रीलंकाको प्रसिद्ध चिया प्रदान गरे ।भेटका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयबाट कोपिला खतिवडासहित अधिकारीहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्