Ads

‘सीमा सुरक्षा पहिलो प्राथमिकता’


पर्सा । पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

सो अवसरमा प्रजिअ दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । उनले जगरनाथपुर गाउँपालिका–२ स्थित नेपाल–भारतको इनर्वा सीमानाकाको स्थलगत अवलोकन गर्दै सीमावासीका समस्या र गुनासालाई सम्बोधन गर्ने गरी अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको हो ।

उनले सीमा क्षेत्रका स्थानीयवासीसँग पनि छलफल गरेर स्थानीयवासीले उठाउँदै आइरहेको विषयलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “ अवैध कारोबार नियन्त्रणमा सम्झौता नगर्न निर्देश गर्छु”, उनले भने, “सीमावासीसँग निरन्तर छलफल र गुनासो सुन्ने व्यवस्था गरी सुमधुर सम्बन्ध कायम राख्न पनि अनुरोध गर्दछु ।”

टोलीले ठोरी गाउँपालिकास्थित सीमास्तम्भको बारेमा पनि अवलोकन गरेको थियो । सो अवसरमा जगरनाथपुर गाउँपालिका–२ का वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले केही ठाउँमा सीमाको विवाद कायम रहेकाले दुवै पक्षबीच छलफल गरेर विवाद टुङ्ग्याउनु आग्रह गरे ।

“हाम्रो तहबाट सुरक्षाकर्मीको लागि आवश्यक पर्ने सबै खालको सहजीकरण गर्न तयार रहेका छौँ”, उनले भने, “ सुरक्षाकर्मीले पनि सीमा सुरक्षामा विशेष जोड दिन जरुरी रहेको छ ।”
जगरनाथपुर–२ का स्थानीय जामिर मियाँले नेपाली सुरक्षाकर्मी र स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताए।

Ads

सम्बन्धित पोष्टहरू