Ads

लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना


लमजुङ । यहाँको क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन् ।

सङ्घीयता कार्यान्वयनसँगै उहाँ २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव गुरुङ १७ वर्षपछि पुनः सङ्घीय सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ । उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०६४ चैत १८ देखि २०६५ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी निर्वाह गरेको थियो । उनी विसं २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा लमजुङ प्रदेश ९ख० बाट निर्वाचित भएको थियो । सो अघि विसंं २०७० को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा तत्कालीन नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायत राजनीतिक दलको गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले हराएर निर्वाचित भएका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट १९ हजार पाँचसय दुई मतकासाथ विजयी भएको थियो । पिता गङ्गाप्रसाद र माता चिनी गुरुङका कोखबाट २०१४ फागुन १ गते लमजुङमा जन्मिएका पृथ्वीसुब्बा २०३४ देखि राजनीतिमा क्रियाशीलछन् ।

काठमाडौँस्थित अमृत साइन्स क्याम्पसबाट २०३४ सालमा स्नातकोपाधि हासिल गरेपछि आफ्नै गाउँ गिलुङमा रहेको हालको बुद्धोदय माध्यमिक विद्यालयमा उनले सात वर्ष प्रधानाध्यापकका रुपमा शैक्षिक उन्नयनका निम्ति सेवा गरेका थिए ।

विसंं २०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी सचिवमा निर्वाचित हुँदै विसं २०५४ माघ ९–१४ मा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट एमाले केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित भए । विसं २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भई जिम्मेवारी समालेका गुरुङले विसंं २०६० मा एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत भए ।

त्यस्तै, २०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरे भने २०६१ देखि २०७० सम्म आदिवासी–जनजाति विभाग इञ्चार्जका रूपमा काम गरे । विसं २०६५ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित तथा २०६५ मा पार्टी पोलिटब्यूरो सदस्यमा निर्वाचित भयो ।

विसं २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा समेत रहनुभयो । विसं २०७१ मा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित तथा विसं २०७२ देखि पार्टीको केन्द्रीय सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा समाल्दै विसंं २०७५ नेकपाकालमा स्थायी कमिटी सदस्य नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा २०७८ मङ्सिर १०–१४ मा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भए । उनले पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिकेका छन् ।

आफ्नो जीवनको करिब पाँच दशक राष्ट्र र जनताको सेवामा समर्पण गर्नुभएका मन्त्री गुरुङ सङ्घीयता, आदिवासी जनजाति आन्दोलन र जनताको बहुदलीय जनवादको प्रखर वक्ताका रूपमा परिचित छन् ।

Ads

सम्बन्धित पोष्टहरू