Ads

उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो


बागलुङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । “स्थानीय तहमा उत्पादनमा आधारित अनुदान कार्यक्रम भए पनि विज्ञ केन्द्रसँग किसान जोडिएका छन्”, सापकोटाले भने, “संस्थागत बिक्रीका आधारमा मात्र अनुदान दिने मापदण्ड भएकाले संस्थागत बिक्री नगर्ने किसान अझै छुट्नुभएको छ ।”

कार्यालय तथा सरोकारवालाले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता बागलुङ दूध र मासु आत्मनिर्भर बनेको छ भने अण्डामा आत्मनिर्भर उन्मुख छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा बागलुङमा ९३ लिटर उपलब्ध छ ।

“दूध र मासु निर्यात हुन्छ, यो सङ्गठित किसानको तथ्याङ्क हो, किसान आफैले बजार पुर्याएर बिक्री गरेको अझै धेरै परिमाणमा निर्यात हुन्छ”, विज्ञ केन्द्रका वरिष्ठ पशु प्राविधिक केशव शर्माले भने, “हामी पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने चरणमा छौँ ।”

विज्ञ केन्द्रले अघिल्लो आवमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई अनुदान उपलब्ध गराएको थियो । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।

Ads

सम्बन्धित पोष्टहरू