Ads

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि


काठमाडौँ । द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व श्रेष्ठको आज यहाँ रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराई रहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको हो ।

स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको श्रद्धाञ्जली दिन पशुपति पुगेकाहरूले बताएका थिए ।

आज बिहान उप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्र ढकाललगायत विशिष्ट व्यक्ति तथा पर्यटन व्यवसायीहरू द्वारिकाज होटल पुगी श्रद्धाञ्जली व्यक्त गरेको थियो । आज दिउँसो पशुपतिस्थित विद्युतीय शवदाहगृह नजिक राखिएको स्व श्रेष्ठको पार्थिव शरीरमा पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकलगायत आफन्तजनले पुष्पगुच्छासहित माल्यार्पण गर्नाका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

भारतको पटना विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक उत्तीर्ण गर्नुभएकी स्व श्रेष्ठले आफ्ना पतिसँग मिलेर मुलुककै दोस्रो ट्राभल एजेन्सी काठमाडौँ ट्राभल एन्ड टुर्स खोलेको थियो । काठमाडौँ उपत्यकाको आर्किटेक्चरलाई पुनर्जागृत गर्दै द्वारिकाज होटलको परिकल्पना गरेका उनका पति द्वारिकादास श्रेष्ठको सन् १९९२ फेब्रअरी १० मा निधन भएको थियो । द्वारिकाज होटल सन् १९७७ मा दर्ता भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू