काठमाडौं । लुम्बिनी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाइने भएको छ ।
पार्टी केन्द्रको ठाडो निर्देशनपछि पूर्वमुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लीला गिरीको नाम काटिएको छ । उनलाई पछि पार्दै आचार्य मुख्यमन्त्री बन्न लागेका हुन् । आज बिहानसम्म गिरी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा थिए ।
आइतबार जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए।
सोमबार बिहानसम्म पनि लीला गिरी नै मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो। एमालेका प्रमुख सचेतक तुलसी चौधरीले लीला गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पत्र तयार गर्दै थिए। तर अचानक एमाले महासचिव शंकर पोखरेलको एक फोनले लीला गिरीको नाममा काटिएकाे हाे।
गिरी दलको नेता कायम रहने र उपनेता मुख्यमन्त्री बन्ने केन्द्रले निर्णय गरेको हो । मुख्यमन्त्री बन्न लागेका आचार्य महासचिव शंकर पोखरेलनिकट हुन् । गिरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् । लुम्बिनीमा पौडेल र पोखरेलबीच शक्तिको लडाइँ हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्