काठमाडाैं । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् ।
मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिलो नेपालीका रूपमा अध्यागमन कर्मचारीलाई भेट्ने भएकाले उनीहरू स्मार्ट बन्नुपर्ने समेत बताए ।
‘तपाईंहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,’ उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस्,’ उनले भने ।
देशभन्दा बाहिर जाने मानिसहरूलाई बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । ‘अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनुपर्यो,’ उनले भने, ‘गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखिए कारबाही गरे हुन्छ ।’
पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए ।
‘मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ,’ उनले भने, ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’
गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्