काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किंदैछ । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो ।
समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।
इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । तर दोस्रो र तेस्रो खेलमा भने नेपाल पराजित भयाे । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो।
एसिया कपमा समूह ‘ए’बाट भारत र पाकिस्तान र समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् । नेपालसहित यूएई, थाइल्याण्ड र मलेसिया समूह चरणबाट घर फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्