Ads

पहिराको उच्च जोखिममा सिगाना स्वास्थ्यचौकी


बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो । जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन समितिका संयोजक यज्ञराज गौतमले जानकारी दिए ।

“स्वास्थ्यचौकी भवन नजिकै पानीको मूल छ, निर्माण गर्दा फालेको माटो र पानी तर्काउन नसक्दा बर्सेनि पहिरो बढेर गयो, लाखौँको स्वास्थ्यचौकी जोगाउन करोडौ खर्च गर्नुपर्ने देखियो, हालसम्म पहिरो रोकथामका लागि रु ५० लाख खर्च भइसकेको छ”, उनले भने, “पहिरो रोकथामा लागि लगाइएको पक्की पर्खालले पूर्णता नपाउँदा यसपटक स्वास्थ्यचौकीको प्राङ्गण नै कोल्टे परेको छ ।”

अघिल्लो आर्थिक वर्षको अन्त्यमा गण्डकी प्रदेशबाट पहिरो रोकथामका रु ५० लाख विनियोजन भएकामा रु २५ लाखको पक्की पर्खाल निर्माण गरिएको थियो । गत आवमा रु २५ लाख गरी अहिलेसम्म रु ५० लाख लागतमा पहिरो रोकथामको काम भए पनि अहिले पुनः पहिरो गएको बागलुङ –८ सिगनाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिए ।

रु एक करोड ८२ लाखको लागतमा भवन निर्माण गरिएको थियो । झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा पारेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनका अनुसार पहिरोका कारण जोखिममा रहेको तित्याङ स्वास्थ्यचौकी पहिरो रोकथामको प्रयास सफल भए पनि सिगानाको पहिरो ठूलो भएकाले समस्या भएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू