काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।
श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए ।
भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रुपमा विकास गरिने बताए।
निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए । सो क्रममा उनहरुबीच आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दीगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्